प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति
मिति : २०७८ जेठ १८ गते मंगलबार
डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाट र उनकी दुई वर्षकी छोरी अन्जुमाथि प्रज्वलनशील पदार्थ फालेर हत्या प्रयास गरिएको घटनाप्रति महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारको गम्भीर ध्यानाकर्षण भएको छ ।
यही जेठ १२ गते आफ्नै पसलमा सुतिरहेका आमाछोरीमाथि रातको करिब साढे १२ बजेतिर अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएका थिए । कोठाभरी आगो दन्किएपछि काखमा छोरी च्यापेर बाहिर निस्किन खोज्दा हत्या प्रयास गर्ने व्यक्तिले उनी सुतेको कोठा बाहिरबाट बन्द गरिदिएको र उनी जोरजोरले चिच्याउन थालेपछि मात्रै छिमेकीले ढोका खोलेर उद्धार गरेका थिए ।
घटनालगत्तै लक्ष्मीलाई डोटीकै राजपुरस्थित सुजङ्ग अस्पतालमा भर्ना गरिएको थियो । तर अस्पतालले उनको थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बताए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनी पाँच दिनदेखि अस्पतालको बेडमा छट्पटाइरहिन् । अन्ततः हिजो जेठ १७ गते वन तथा वातावरण मन्त्री प्रेम आलेमगरको विशेष पहलमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा नेपाली सेनाको हेलिकप्टरले उनको उद्धार गरी काठमाडौँको कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार शुरु भएको छ ।


प्राप्त जानकारी अनुसार घटनालगत्तै लक्ष्मीका श्रीमान् सन्तोष भाट फरार छन् । लक्ष्मी सन्तोष भाटकी जेठी श्रीमती हुन् र सन्तोषले लक्ष्मी र तीन छोरीलाई छोडेर तीन वर्ष अघि बहुविवाह गरी पछेरी गाउँ बस्दै आएका छन् । उनकी कान्छी श्रीमतीबाट एक छोरा छन् । घटनाको दिन जेठी छोरी अनु (७ वर्ष), माइली छोरी अनिशा (४ वर्ष) आमासँग नरहेको र २ वर्षकी कान्छी छोरी अन्जु मात्रै लक्ष्मीसँग रहेको थाहा भएको छ । कोठाभरी आगो सल्किदा अन्जुलाई लक्ष्मीले काखमा बोकेर आफ्नो शरीरको आगो निभाउने प्रयास गर्दा अन्जु सामान्य घाइते भएकी छन् ।
अतः घटनाको एक साता बितिसक्दा पनि अपराधी को हो पत्ता लाग्न सकेको छैन । केही समयदेखि श्रीमान्को हिंसा सहँदै आएकी लक्ष्मीलाई आगो लगाएर छोरीसहित हत्या गरिन खोज्नु, घटनाको दिन कान्छी श्रीमतीसँगै रहेका श्रीमान् सन्तोष घटनालगत्तै फरार हुनु र लक्ष्मीको उपचार अभावमा ज्यान जान लाग्दासमेत सन्तोष सम्पर्कमा नआई बेखर हुनुले यो घटनामा सन्तोषलाई शंका गर्ने थुप्रै आधारहरु देखाइरहेको छ । तसर्थ लक्ष्मी र उनकी छोरीमाथि यो घटना घटाउने अपराधीलाई तत्काल पक्राउ गरी दोषीउपर कडा भन्दा कडा कानुनी कार्वाही गरी लक्ष्मीलगायत सिङ्गो समाजलाई कानुनी राज्यको महसुस दिलाउन यो संस्था प्रहरी प्रशासनसँग जोडदार माग गर्दछ ।

अध्यक्ष
प्रकाश कुमार चन्द
प्रहार
महिला हिंसा विरुद्ध को अभियान
२०७८ जेठ १८

Leave a Reply

Your email address will not be published.

Proudly powered by SajilO Online